Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

२०७५ भदौ १४ गते बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । सूचनाका आधारमा प्रहरीले चिनियाँ ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने झन् बढ्दो छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।

ह्याकरले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत सात बैंकको रकम निकालेको प्रहरीले जनाएको छ ।

नेपालको बैंकिङ प्रणालीमा नै सशङ्कित पार्ने गरी काठमाडौँमा उक्त घटना भएको थियो ।  पटक–पटक गरी शङ्कास्पदरूपमा रु एक करोड ८९ लाख रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरङ्गित भएको हो । झण्डै सात वटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ । एटिएमका गार्डले विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखेपछि बैंकमा खबर गरेका थिए । सोही सूचना बैंकमार्फत आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पारेका थिए ।

खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम निकालेको रहस्य खुल्यो । भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो । होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य चार ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । प्रहरी जुन लिफ्टबाट ६ तलामाथि चढ्दै थियो ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए ।

एटिएम बुथबाट झू लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए । चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्ने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा झण्डै दुई करोड निकालेका थिए । प्रहरीले यस्तो प्रकृतिको घटना अहिलेसम्म नभएको दाबी गर्दै आएको छ ।

उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ्सुरअन्तर्गतको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आठ जना चिनियाँ नागरिक उक्त घटनामा संलग्न रहेकामा दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका चिनियाँ ह्याकरबाट गैरकानूनी रुपमा डलर सटही गरेका ठमेलस्थित डेक्सो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडी सोमबार पक्राउ गरेको छ । ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै उनीहरुसँग साटेका थिए ।

चिनियाँ नागरिक पक्राउ परेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीले भेटेर घटनाको जानकारी लिएका थिए । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको र कुनै दबाब नदिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ अभियुक्तहरुको परिवार नेपाल आइपुगेका छन् । आज बिहान उनीहरुले अभियुक्तलाई भेट गरेको परिसरले जनाएको छ

About ICT Khabar/आइसिटी खबर

Check Also

२०२१ को डिभी खुल्यो, नि:शुल्क आवेदन यसरी भर्नुहोस्

२०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ ...