Home / आइसिटी इभेन्ट/गतिविधि / क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताहरुको घुइँचो

क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताहरुको घुइँचो

दैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित

भृकुटीमण्डपको क्यान इन्फोटेक २०१९ सूचना प्रविधि मेलामा अवलोकनकर्ताको घुइचो बढेको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ताले मेल पत्यक्ष रुपले हेरेको क्यान महासंघले जनाएको छ ।
२५औं संस्करणको क्यान इन्फोटेक २०१९मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ताहरु मेलाप्रति आकर्षित देखिएका छन् ।
मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ । ‘ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यावहारिक प्रयोगको जानकारी प्रर्दशनीमा रहेको क्यान महासंघकी उपाध्यक्ष सुनैना घिमिरिे पाण्डेले बताइन् ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए । ‘यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘त्यस्तै इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ ।’

मेलामा पहिलोपटक भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको क्यानले जनाएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ ।

मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो । मेलामा काठमाडौंको पद्मकन्या माध्यमिक विद्यालयबाट मेलास्थल आएका विद्यार्थी र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।
बुधबार धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएका विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए ।

मेलाको तेस्रो दिन बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल, विद्यार्थी नेता नयन सिंह महर, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधिको ठूलो संख्यामा उपस्थिति रह्यो ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक ...