Breaking News
Home / बिजनेस प्रोफाइल / नूरप्रताप जबराको व्यवसाय र विचारका ज्योति : जन्मभूमि र कर्मभूमिप्रति समर्पित हुनुपर्छ, राष्ट्रलाई सम्मान गर्नुपर्छ

नूरप्रताप जबराको व्यवसाय र विचारका ज्योति : जन्मभूमि र कर्मभूमिप्रति समर्पित हुनुपर्छ, राष्ट्रलाई सम्मान गर्नुपर्छ

  • प्रेम कैदी
सन् २०१६ को मार्च २४ मा नेपालका ख्यातिप्राप्त उद्यमी नूरप्रताप जबराको ७८ वर्षको उमेरमा फोक्सो खुम्चिने समस्याबाट नयाँदिल्लीमा निधन भयो । यस्तो दुःखदायी खबरले उनका आफन्त मात्रै होइन, व्यावसायिक क्षेत्रका सबै नेपाली उद्यमी, सर्वसाधारण नेपालीसमेत दुःखी हुन पुगे । चिकित्सकका अनुसार राणालाई आईपीएफ अर्थात् इडियोप्याथिक पालमोनारी फाइब्रोसिस रोग लागेको थियो । एकचोटि पनि ज्वरो नआई उनको निधन भयो ।
नूरप्रताप राणा भएर पनि उद्योग, व्यापार तथा बैंकिङ व्यवसायमा पूर्ण रूपमा सफल व्यक्तित्व मानिन्छन् । यस्तै उनी त्यस्ता प्रथम पिता हुन्, जसले आफ्नो छोरी रक्षा राणालाई देशको पहिलो महिला पाइलट बनाए ! मजस्ता सञ्चारकर्मीले नूरप्रतापलाई चिन्ने कारण हो, कुनै समय राजा वीरेन्द्रसँग २०४६ को जनआन्दोलनका कमान्डर लौहपुरुष गणेशमान सिंहले पटक–पटक नूरप्रतापको निवास मैतीदेवीमा भेटघाट गर्ने गरेकाले पनि विशेष रुचि राख्ने गरेको थिएँ ।

कलकत्ताका नवाव समसुद्दिन एलियाले काठमाडौँ लुटेको र पशुपतिको शिवलिंग तोडेको बदला लिन नेपाली फौज लखनउ पठाइएको कुरा किन कसैले लेख्दैन ? विश्व विजयी नेपाली सेनाले आफ्नो उज्यालो इतिहासमाथि लाग्ने यस्ता काला धब्बाहरू किन मेटाउँदैन ? यी यस्ता प्रश्नको जवाफमा विस्तृत इतिहास निर्माण गर्ने परिकल्पना नूरप्रतापको अवसानसँगै थन्किने सम्भावना बढेको छ ।

नूरप्रतापको महाराज वीरेन्द्रका कान्छी आमाका बाबु नरशमशेर राणासँग विशेष निकटता थियो भने उनकी धर्मपत्नी गंगा राणासँग गणेशमान सिंहलगायतका प्रजातन्त्रवादी नेताहरूसँग पारिवारिक सम्पर्क थियो ।
गणेशमानलाई भोट दिनुस
प्रजातन्त्र खुल्छ जरुर !
२०१५ सालको आमनिर्वाचनमा यो गीत गाएर ख्याति पाएकी गंगा गुरुङसँग नूरप्रतापले प्रेम विवाह गरेका थिए । यिनी पाल्पाको काभ्रे भन्ने ठाउँमा काठमाडौँबाट निर्वासित भएका जंगबहादुरका जेठा छोरा जगतजंग खलकका हर्षप्रताप राणाका छोरा हुन् । यिनको जन्म १९९४ साल जेठ ११ गते (सन् १९३७ मई २५) भएको थियो ।
जंगबहादुरका भाइ छोराहरू २२ नोभेम्बर १८८५ को राति पहिले रणोद्दिप सिंह र त्यसपछि मनोहरामा जगतजंगको हत्या गरिएको थियो । जंगबहादुरका जेठा छोरा जगतजंगले श्री ५ सुरेन्द्रकी जेठी शाहज्यादी टीकाराज्य लक्ष्मी शाहसँग विवाह गरेका थिए ।
त्यसैले मनोहरा, झाँगाझोली (सिन्धुली) काभ्रे (पाल्पा) आदि ठाउँमा निर्वासित भएका राणाहरू आफूलाई पितृपक्षबाट कास्की र लमजुङका राजा श्री ३ जंगबहादुर र मातृ पक्षबाट श्री ५ महाराजाधिराजहरूकै सन्ततिको रूपमा लिने गर्छन् । कसैकसैले राणाहरूलाई कुँवरजी राजपुतानाबाट आएका ठकुरीसरहकै उच्च क्षेत्री कुलका मानेका छन् भने केहीले राणाहरू कुँवर जोगी भएको उल्लेख गरेका छन् ।
नेपालका इतिहासकार योगी नरहरिनाथले अछामको जनालीका कुँवर क्षेत्री भनी उल्लेख गर्नुभएको छ भने राणाहरूको गोत्र वत्स भएको र जुम्ला साम्राज्यका विश्व विजयी अधिपति कल्याल बलिराज शाहीको गोत्र रवि भए पनि विश्व विजेता तैमुरलंगलाई सन् १४०२ मा हरिद्वारमा काट्ने युवराज वत्सराज शाहीको नामैले पालवंशी कल्याल शाहीहरूको गोत्र वत्स हुन सक्ने अनुमान खससाम्राज्य भन्ने पुस्तकका लेखक तथा विशिष्ट समाजशास्त्री बालकृष्ण पोखरेलले दाबी गरेबाट राणाहरू विश्व विजयी ठकुरीहरूको कल्याल वंशसँग समेत जोडिन आएको देखिन्छ ।
गोरखालीहरूका भारदारहरू धेरै क्षेत्री थरहरू भए पनि कुँवर राणासँग गोरखाली राजाको दोहोरो वैवाहिक सम्बन्ध देखिनुले लेखक पोखरेलले अनुमान गरेका आधारमा राणाहरूको इतिहास खोजियो भने नेपाल शब्द बनेको पालनहार शेष शाही विष्णुसँग जोडिएका पालवंशी कल्याल शाहीहरूकै कुनै सन्तति अर्थात् कुँवरले समाज त्यागेर वैराग्य ग्रहण गरी कुँवर जोगी भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
यस्तो इतिहास भएको परिवारबाट आएका नूरप्रतापले आफ्नो जीवनमा देखा परेका गम्भीर चुनौतीहरूलाई त्यान्द्रो बराबर ठानेर सामना गरे । जन्मभूमि र कर्मभूमिप्रति समर्पित हुनुपर्छ, राष्ट्रलाई सम्मान गर्नुपर्छ भन्ने सोचले अभिप्रेरित नूरप्रताप शून्यबाट उठेर बाबुबाजे र नातागोता कसैले नगरेको उद्योग–व्यवसायमा लागेर आफ्नो श्रम र पसिनाबाट असाधारण सफलता प्राप्त गरेका थिए ।
उनले देशलाई ठूलो राशि कर मात्र नबुझाएर आफ्ना उत्पादनहरू विदेशमा निकासी गरे, देशको व्यापार सन्तुलन ल्याए अनि आफूलाई अर्बपति बनाउन सफल भएका थिए । उनले झन्डै साढे तीन हजार नेपालीलाई प्रत्यक्ष रोजगारसमेत प्रदान गरेका थिए । उनी प्रचारबाजीभन्दा कर्ममा विश्वास गर्ने उद्यमशील कर्मयोगी थिए ।
उनले गोपीकृष्ण शर्मा, विश्वबन्धु अर्याल, डा. गोविन्द नेपाललगायतका व्यक्तित्वहरूलाई समावेश गरेर साहित्य, कला र संस्कृतिको क्षेत्रमा लागेका व्यक्तित्वहरू र लुकेका प्रतिभाहरूलाई उत्थान गर्न बितेका २० वर्षमा नूरगंगा प्रतिभा पुरस्कार स्थापना गरे अनि धेरै साहित्यकर्मीलाई पुरस्कृत गरेका थिए ।
साथीभाइ, इष्टमित्रहरूसँग अति मिलनसार नूरप्रताप र उनकी पत्नी गंगा राणालाई २०४० सालमा कवि तथा पत्रकार मदन रेग्मीमार्फत चिन्ने मौका पाएको थिएँ । पछि उनकी बहिनी दुर्गा राणा गुरुङमार्फत मैतीदेवीको भव्य महलमा भेटघाट भएको थियो । सिंगापुरमा हुर्केकी दुर्गा उदार र संवेदनशील छन् ।
पाल्पा नवलपरासी र काठमाडौँमा हुर्केका विशिष्ट व्यवसायी नूरप्रतापसँग भेट्दा अति सरल, सहज र साधारण प्रकृतिका लाग्थे । नूरप्रताप सहज र सामाजिक प्रकृतिका मात्र नभई वैचारिक रूपमा पनि प्रतिबद्ध थिए भनी काठमाडौँका लोकप्रिय नेता एवं पूर्वमन्त्री पीएल सिंहले बताएका छन् ।
गणेशमान सिंहसँग मात्रै होइन, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द, प्रकाशमान सिंह, पशुपतिशमशेर, नारायणदत्त भट्ट, डम्बरबहादुर बस्नेत आदि धेरैसँग उनको निकट सम्बन्ध रहेको र सबै नेताहरूका साथै बुद्धिजीवी, संस्कृतिकर्मी, पत्रकारहरू उनको घर मैतीदेवीमा घुइँचो लाग्ने गरेको थियो ।
नयाँनयाँ व्यवसायका निर्माता (इन्नोभेटर) थिए उनी । एकबाट अर्को अनेक थरी व्यवसाय गर्ने र आफ्नो लगन, मेहनत र इमानदारीले पूर्ण सफल भएका थिए । गोल्टस्टार किरण सुज हात्तीछाप चप्पल आदिमा नेपालमा उनी पायोनियर थिए । उनले निजी क्षेत्रमा पहिलो कुमारी बैंक स्थापना मात्र नगरी सैयौँ वर्षदेखि चलेका सरकारी बैंकहरूसँग प्रतिस्पर्धा गर्न सफल भएका थिए ।
त्यसरी नै ट्रेडिङ, हाइड्रो, फर्मास्युटिकल, त्रिशूल ग्याँसलगायत जेमा हात हाल्यो उनका लागि सधैँ लक्ष्मी दाहिना रहेको देखियो । जेजस्तो व्यवसाय गरे पनि राज्यलाई ठगेर वा कालो धनलाई सेतो बनाएर, बजेटको भाषा बदलेर, राजनीतिक शक्ति प्रयोग गरेर उनले कुनै पनि व्यवसाय गरेनन् ।
कामबाट स्थापित भएर गुणस्तरमा आफ्नो उत्पादनलाई सम्झौतारहित ढंगले प्रस्तुत गरेर र समाजको मागबमोजिम उद्योग व्यापार अघि बढाएर स्थापित भएकाले वाणिज्य संघहरूको नेतागिरी गर्ने कामबाट पनि जबरा सधैँ टाढा रहेका थिए । नेपालका राष्ट्रिय पुँजी नूरप्रतापले सत्ता संरक्षणको प्रयास कहिल्यै गरेको देखिएन । उनको घरमा कसैलाई प्रभावित गरेर थापेका पुरस्कार र प्रशस्तिहरूको कुनै फोटो झुन्ड्याइएको देखिँदैन ।
जन्मभूमि र कर्मभूमिप्रति समर्पित हुनुपर्छ, राष्ट्रलाई सम्मान गर्नुपर्छ भन्ने सोचले अभिप्रेरित नूरप्रतापले आफ्ना बाबुबाजे र नातागोता कसैले नगरेको उद्योग–व्यवसायमा लागेर असाधारण सफलता प्राप्त गरेका थिए ।
नूरप्रतापले नेपालको राजनीतिमा प्रत्यक्ष सहभागी भएको देखिँदैन, तर २००७ सालको परिवर्तन श्री ५ त्रिभुवनको राणा खलकविरुद्धको विद्रोहका साथै धीर शमशेरका सन्ततिहरूले दबाएका र तल्लो श्रेणीको बनाई अपमानित गरेका सुवर्ण शमशेर, रद्र शमशेर, महावीर शमशेर आदिको शक्ति र सम्पत्तिले भएको थियो, जसका पछाडि देशभरिका दबेका राणा, ठकुरी र शमशेरपीडित जनसमुदाय लागेको थियो ।
सुवर्ण शमशेरको पैसा मात्र होइन, उनको भान्जा एवं गलकोटमा राजकुमार कमान्डेन्ट थीरवम मल्लले म्यानमारबाट छानेर नल्याएको भए मुक्ति सेनाले हतियार पाउने थिएन । सुवर्ण शमशेरको नेतृत्व र आर्थिक सहयोग, महावीर शमशेरको हवाईजहाज, थीरबम मल्लको सैन्य दक्षता र महेन्द्रविक्रम शाहको दुई कांग्रेस जोडेर सुवर्ण शमशेरलाई सहभागी गराउने कार्यले ०७ सालको परिवर्तन सम्भव भएको अहिले बिर्सिएको जस्तो लाग्छ तर नूरप्रतापहरू किन सधैँ प्रजातन्त्रको पक्षमा रहे भन्ने धेरैले बुझेका छैनन् ।
नूरप्रतापलाई दरबार, राणाहरू र कतिपय राजा–रजौटाहरूका बारेमा इतिहासको ज्ञान नभएकाले अथवा इतिहास लुकाउने मनसायले भ्रम पारेको हामीले स्पष्ट गर्न सकेका छैनौँ भन्ने पछुतो थियो । नेपालीहरूले जे मन लाग्यो लेख्ने कुरा रोक्न नसकेकोमा उनको चिन्ता थियो । जंगबहादर राणा र उनका भाइ धीर शमशेरले लखनउ लुटेको भनी जसले पनि सराप्ने गरेकोमा पनि उनी दुःखमनाउ गर्थे ।

About ICT Khabar/आइसिटी खबर

Check Also

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले ...