Breaking News
Home / Real Story / पत्रकारितामा ह्याप्पीका अनह्याप्पी क्षणहरु

पत्रकारितामा ह्याप्पीका अनह्याप्पी क्षणहरु

उनको फेसबुक नाम हो ‘ह्याप्पी’ । फेसबुकमा उनका तस्बिरहरु हेर्दा लाग्छ, उनी जीवनभर साच्चिकै ह्याप्पी छन् । अनुहारमा कतै निराशपन देखिदैन । फेसबुकका फोटोमा पनि उनलाई कुनै मोडलभन्दा कम देखिदैन । तर, उनी पेशाले पूर्णकालीन पत्रकार हुन् । उनको ६ वर्षे पत्रकारिता पेशाको अनुभव सुन्दा यतिसम्म भन्न सकिन्छ, उनले अन-ह्याप्पीका थुप्रै घटनाहरु झेल्नुपर्‍यो । उनी हुन् राधिका ढकाल ‘ह्याप्पी’ । कारोबार दैनिकमा ६ वर्षदेखि कार्यरत महिला पत्रकार ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै गरेकी राधिका नेपाली पत्रकारितामा स्थापित नाम हो । पत्रकारिता अध्ययनकै क्रममा ३ महिना इन्टर्नसीप गर्ने क्रममा उनी नेपाली सन्देश अनलाइनमा जोडिन पुगिन् । उनको पत्रकारिता कर्मको पहिलो खुडि्कलो यही अनलाइन बन्यो । इन्टर्न सकिएलगत्तै उनलाई सोही अनलाइनबाट जागिरको प्रस्ताव आयो । ‘इन्टर्न गर्न गएको मान्छे, जागिरकै प्रस्ताव आएपछि खुशी नहुने कुरै भएन,’ नाम जस्तै सँधै ह्याप्पी चेहेरामा उनले प्रतिक्रिया दिइन् ।

अनलाइनमा उनको काम थियो, कलाकारको बायोग्राफी लेख्नु । रिर्पोटिङका क्रममा भेटिएका केही निर्देशक, निर्माताहरुले उनलाई चलचित्र, म्युजिक भिडियो खेल्न अफर गरे । तर, उनको रुची हिरोइन वा मोडल बन्ने थिएन । त्यसैले ती प्रस्तावहरु उनलाई बेकामे लागे । ‘मेरो रुची पत्रकारितामा थियो,’ उनी भन्छिन्, ‘मैले त्यतातिर सोच्दै सोचिनँ ।’

६ वर्षे पत्रकारिता दौरानमा उनले धेरै तीता मिठा अनुभव संगालेकी छिन् । ‘व्यवसायिक सम्बन्ध’लाई अनुचित सम्बन्धमा बदल्न खोज्ने समाजका प्रतिष्ठित भन्नेहरुको वक्रदृष्टिको पनि उनले सामना गरिन् र अहिले पनि त्यही पीडा भोग्नु परिरहेको छ । रिपोर्टिङमा हिडेको पत्रकारको एउटै स्वार्थ हुन्छ कसरी राम्रो समाचार लेख्ने तर राधिकालाई भने अचम्मको अफर आइरहन्छ । डेटिङ अफरदेखि प्रेम प्रस्तावसम्म । एउटा पत्रकारलाई त्यो अफर मान्य हुने कुरै भएन, स्वभाविक रुपमा उनले पनि ती अफर लत्याउँदै गइन् । त्यसपछि ‘तिमीले गलत बुझ्यौ’ भन्दै उल्टै दोष देखाउने खलपात्रहरुको लामै फेहरिस्त छ राधिकाको डायरीमा ।

एउटा पत्रकारका लागि समाचार स्रोत भनेको देउता जत्तिकै हुन्, जसले दिएको समाचारका आधारमा पत्रकारको जागिर टिकिरहेको हुन्छ । तर, तिनै ‘न्युज सोर्स’ले नाजायज फाइदा उठाउन खोज्यो भने के गर्ने ? त्यो पनि महिला पत्रकारलाई ? यस्तै दर्जनौं तीतामिठा अनुभव छन्, राधिकासँग । अफर पनि थरिथरिका, कसैले युरोप घुम्न जाऊ भन्ने, दशैं तिहारको विदामा थाइल्याण्ड, सिंगापुर र हङकङमा होलिडे मनाउने जाऊ भन्ने । ‘घर, गाडीसम्म किनिदिने नानाथरि प्रलोभनहरु पाएँ,’ नेपालीपत्रसँगको विशेष कुराकानीमा राधिकाले आफ्नो मनको कुरा खोलिन्,’यी कुराहरु पहिलोपटक सार्वजनिक गर्दैछु, ‘एउटा महिला पत्रकारका लागि साँच्चै गार्‍हो छ यो फिल्ड । दरिलो आत्मविश्वास र आत्मस्वाभिमान भएन भने यो पेशामा टिक्नै मुश्किल छ ।’

राधिकाका विचारमा, यहाँ प्रस्तुत भएका तीता अनुभवहरु सबैले नभोगेका पनि हुनसक्छन् । या, योभन्दा बढी नै अरु कसैले भोगेको पनि हुनसक्छ । ‘मैले ६ वर्षे पत्रकारितामा महिला पत्रकारको हिसाबले भोगेका नमिठा घटनाहरु पाठक समक्ष भन्न गइरहेको छु,’ दर्‍हो आत्मविश्वाससाथ राधिकाले अगाडि भनिन्,’मेरैजस्तो पीडा अरुले भोग्नुपर्छ भन्ने छैन तर मेरा अनुभवले अहिले पत्रकारिता गरिरहेका महिलाहरु वा भोलि यो पेशामा आउन चाहनेहरुका लागि पक्कै पनि पाठ हुनसक्छ ।’

पहिलो गाँसमै ढुँगा

म त्यतिखेर २०/२१ वर्षकी थिएँ । काभे्रेमा जन्मेकी म उच्च शिक्षाको अभिलाषा बोकेर काठमाडौं आएको थिएँ । स्नातक तह पढ्दै गर्दा पत्रकारितामा भविष्य खोज्न थाले । एउटा अनलाइनमा काम पनि पाएँ । नेपाली सन्देश डटकममा । ३ महिनाको इन्टर्नपछि त्यहीँ प्रमोशन भयो । मैले त्यहाँ ६ महिना काम गरे । महिनाको तलब थियो, ३ हजार रुपैयाँ । त्यहाँबाट क्रिश्चियन धर्मसँग सम्बन्धित कामहरु पनि हुन्थ्यो । कामको सिलसिलामा भेट हुँदै गर्दा उनले एक दिन कफीको प्रस्ताव राखे । हाकिमले गरेको प्रस्ताव भनेर बोलाएको ठाउँमा गएँ । कफी खादै गर्दा उनले काठमाडौं बाहिर घुम्न जाने प्रस्ताव गरे । बाबु समानको मानिसबाट आएको त्यो प्रस्तावले म छाँगाबाट खसेझै भएँ । ‘तपाईंले के सोचेर यस्तो प्रस्ताव गर्नुभयो ? मसँग यस्तो कुरा गर्नुभयो भने ठिक हुँदैन भन्दै कडि्कएँ ।’

मैले पत्रकारिता सुरु गर्दाताका रिपोटर्स क्लव रिपोर्टिङको महत्वपूर्ण गन्तव्य थियो । रिपोर्टिङमा गएको दोस्रो दिन क्लवमा ऋषि धमला भेटिए । उनले त्यतिबेलै भनेका थिए, ‘तिमीजस्तो मान्छेलाई मिडियामा टिक्न दिँदैनन् । टिक्न गार्‍हो छ । जे पनि सहन्छु भनेर बस्यौ भने टिक्छौ नत्र यो फिल्डमा गार्‍हो छ ।’ सुरुवाती दिनमै उनले किन यसो भनेका रहेछन् अहिले राम्रोसँग बुझेकी छु । तर, म ती सबै चुनौतिसँग जुध्दै पत्रकारितामा क्रियाशील छु ।

गलत प्रस्ताव स्वीकारेर युरोप गइनँ

करिब ६ वर्षदेखि म ‘विजनेश रिपोर्टर’को रुपमा पत्रकारितामा सक्रिय छु । रिपोर्टिङको सिलसिलामा समाजमा प्रतिष्ठित, धनी र इज्जतिला भनिएकाहरुसँग सम्पर्क र भेटघाट हुन्छ । उद्योगी व्यापारीहरुसँगको उठबस पनि बाक्लै छ । मैले सबैसँग पेशागत मर्यादामा रहेर सम्बन्ध कायम गरेको छु । तर, पनि प्रतिष्ठित, सम्मानित भनिएका ब्यक्तिहरु नै विभिन्न अफर राख्छन् । प्रतिष्ठितको मुखुण्डोभित्रको कुरुपता देखाउँछन् ।

एक विहान ठूलै व्यवसायीको फोन आयो । मैले सोचेँ समाचारका लागि महत्वपूर्ण सूचना आयो । ती व्यवसायीले एउटा कार्यक्रममा सहभागी हुन नेपालबाट एक टोली युरोप जान लागेको र टोलीमा मेरो नाम पनि समावेश गरिएको खबर सुनाउँदै युरोप भ्रमणको निमन्त्रणा दिए । ँयुरोप जाने, त्यो पनि देशको प्रतिनिधित्व गर्ने टोलीमा सहभागी भएर । यस्तो खबरले को पो खुशी नहोला र ! ‘ उनले पासपोर्ट मागे, मैले दिए । त्यसपछि एक दिन काम छ कार्यलयमा भेटौ भन्दै बोलाए । म गएँ । उनको अफिस चेम्बरमा कुराकानीकै क्रममा लामो भूमिका बाँधेर युरोप भ्रमणमा ‘रुम शेयर’ गर्नुपर्ने प्रस्ताव गरे । आफूलाई प्रतिष्ठित व्यापारी ठान्नेको यस्तो घटियाँ सोचाई देखेर चकित भए ।

जब उसको मुखबाट त्यो प्रस्ताव आयो, एकमन सोचे जुत्ता फुकालेर बजाइदिउँ । अर्को मनमा आयो, यस्ता गलत मनसायका व्यक्तिलाई मुखभरिको जवाफ नै काफी छ । ‘गलत प्रस्ताव स्विकारेर मलाई कतै जानु छैन, तपाइँको युरोप तपाईं नै जानुस् भन्दै हप्काए ।’ उसले आँखा झुकायो । म सरासर च्याम्बरबाट निस्किएँ ।

त्यसपपछि युरोप भ्रमणको लिस्टमा रातारात मेरो नाम परिवर्तन गरेर अर्को पुरुष पत्रकारलाई लगियो । अनुचित प्रस्ताव अस्वीकार गर्दा युरोप भ्रमणको अवसर गुमाएकोमा मलाई कुनै पछुतो छैन । बरु, आफ्नो आत्मसम्मानमा अडिग रहन सकेकोमा खुशी छु ।

आधा सम्पत्ती दिने हो ? भनेपछि तर्कियो

यूरोप भ्रमण मेरो व्यक्तिगत जीवनको एउटा घटना थियो । पेशागत सिलसिलामा मलाई प्रेरणा दिनेहरु पनि छन् । प्रेरणा दिने आवरणमा केही यस्ता पनि छन्, जो घरमा श्रीमती, छोराछोरी भएपनि मौकामिले अवसर छोप्न खोज्छन् । केही महिना अघि करिब ६५ वर्षका एक वृद्ध व्यवसायी पछि लागे । अमेरिका पुग्दा पनि फोन गथ्र्यो, कहिलेकाहीँ समाचार स्रोतका रुपमा काम लाग्ने भएकाले राम्रैसँग कुरा गर्थे । ती वृद्धले गलत आशय राख्ने गरेको त्यतिबेला थाहा पाएँ, जब उसले मुख खोलेरै प्रस्ताव राख्यो ।

‘घरकी श्रीमतिसँग डिभोर्स गर्न तयार हुनुहुन्छ ?’ उनले प्रस्ताव गरेपछि भने, ‘आफ्नो सम्पत्ति, बिजनेश आधा दिन तयार हुनुहुन्छ ?’ त्यसपछि ती वृद्ध तर्सिएर लाइन हान्न छाँडे ।

‘गर्लफ्रेण्ड’ बनाएरै छाड्छु भन्यो, पछि मार्ने धम्की दियो

एक वर्षअघि मैले न्युरोडको एक मोबाइल पसलबारे समाचार लेखेकी थिए । मोबाइल पसल सञ्चालकले सिधैं मलाई फोन गर्ने हिम्मत गरेनन् । आफूविरुद्ध समाचार आएपछि व्यवसायीले प्र्रयोग गर्ने बाटो नै अपनाए उनले पनि मार्केटिङमा फोन गरेर । सुरुमा समाचार नै रोक्न खोजेका थिए रोकिएन । उनको गलत कार्यमाथि समाचार लेखिएपछि मार्केटिङ्मा कार्यरत महिला सहकर्मीलाई म्यासेज गरेर भनेछन्, ‘मेरो विरुद्ध समाचार लेख्ने त्यसको रेट कति हो ?’ मार्केटिङ्की ती साथीले त्यस्तो म्यासेज पाएपछि हपारिछन् । ती व्यवसायीले ‘अफिसबाट राती घर र्फकन्छे, किचेर मार्दिन्छुसम्म भनेर धम्की दियो ।’ त्यतिमात्रै होइन, ‘गर्लफ्रेण्ड’ बनाएरै छाड्छु भनेर धाक लगाएछ ।

भोलिपल्ट उसलाई भेट्न न्युरोडस्थित उसको मोबाइल पसलमै गएँ । त्यहाँका कर्मचारी मार्फत उनलाई भेट्न आएको खबर गरे । तर, त्यो व्यापारीले भेटन आएको खबर पाउँदा पसलमै नभएको बाहना बनायो । भेट भएन । त्यसपछि मनपरि म्यासेज पठाउने मोबाइल पसले विरुद्ध कानुनी उपचार खोज्ने सोच बनाए । तर, म्यासेज भारतीय नम्बरबाट आएकाले तत्काल कानुनी कारवाहीमा जाने/नजाने अन्योलमा परियो । सोचे, भेट्न जाँदा निस्किएन, फेरि त्यस्तै म्यासेज पठायो भने कानुनी कारबाहीमा जान्छु । त्यो व्यापारीले त्यस्तो गल्ती दोहोर्‍याउने दुस्साहस गरेन ।

‘म भोट दिन्छु, तिमी मलाई के दिन्छौं ?’

पोखरामा केही महिनाअघि सम्पन्न प्रेस युनियनको निर्वाचनमा म केन्दि्रय सदस्यको उम्मेदवार थिएँ । आशा थियो, मूलधारमा काम गर्ने युवा पत्रकार भएका नाताले अग्रजहरुले प्रोत्साहन गर्लान् । तर, त्यसको ठिक विपरित भयो । म भोट माग्दै थिएँ, एक जना चर्चित सिनियर दाईले भन्नुभयो, ‘म भोट दिन्छु तिमी मलाई के दिन्छौं ।’ हाँकाहाँकी पत्रकारकै नेता, वरिष्ठ पत्रकार भनिनेबाटै यस्तो जवाफ पाएपछि म अवाक् भएँ । निर्वाचनको मैदानमा न भागेर हिँड्नु, न चप्पल फुकालेर हान्नु भयो । मैले नबुझेजस्तो गरि सामान्य जवाफ फर्काएँ, ‘दाई हजुरहरुलाई सकेको सहयोग गरिहाल्छु नि ।’ कसैको गर्लप|mेण्ड नभइ वा सहाराबिना महिलाले चुनाव जित्नै सक्दैनन् भन्ने सोचाई पुरुषहरुमा देखेकी छु मैले । चुनावी हारको पराजयभन्दा चुनावमा उठ्दा अमुक पुरुषसँग जोडेर गरिने निराधार हल्लाले पीडा दिन्छ । तर पनि मैले चुनावबाट हात धोएर भागिन, दृढतासाथ मैदानमा ओर्लिएको थिए । तर, मेरो भागमा पराजय पर्‍यो ।

यसकारण पत्रकारसँग विहे गर्दिन

म अहिले नै विहे गर्ने सोचाइमा छैन् । प्रेमी पनि छैन् । विहे गर्दा पनि पुरुष पत्रकारसँग विहे गर्दिन । म पत्रकारिता छोड्न सक्दिन, श्रीमान् पनि पत्रकार हुँदा आर्थिक रुपले घर चलाउन मुस्किल पर्छ । मैले पेशा परिवर्तन गरे भने चाहीँ पुरुष पत्रकारसँग विहे हुन सक्छ । यो सम्भावना कम छ ।

सबैभन्दा ढोंगी महिला अधिकारवादी

पत्रकारितामा महिलाका लागि अवसर र चुनौती दुवै छन् । पत्रकारितामा आधा दशक पार गर्दा मैले सबैभन्दा ढोंगी चरित्र महिला अधिकारवादीमा रहेको पाएँ । पत्रकारितामा पनि पुरुष पत्रकारभन्दा महिला सहकर्मीबाट नै महिला पत्रकार बढी पीडित हुने गरेका छन् । महिला अधिकारका कुरा गर्ने नै सबैभन्दा संकीर्ण छन् । उनीहरुमा आफ्नो ‘ककटेल बजार’ सिद्धिएला भन्ने चिन्ता छ । महिला पत्रकारको खुट्टा तान्ने, कुरा काट्ने कामका सूत्रधार महिला पत्रकार नै हुने गरेका छन् । महिला पत्रकारहरुकोे क्षमता बढाउन र मानसिकता सुधार हुन निकै समय लाग्छ ।

सिनियर पत्रकारले कोठामा जाऔं भने

रिपोर्टिङ्का क्रममा अरु पत्रकारहरुसँग भेट हुनु सामान्य हो । तर, त्यस्तो भेट त्यतिबेला असामान्य लाग्छ जब एउटा पत्रकारले अर्को पत्रकारप्रति गलत प्रस्ताव राख्छ । व्यापारी, सरकारी कर्मचारी, व्यवसायीबाट मात्र होइन पत्रकारले पनि गलत आशयका प्रस्ताव राखेका छन् । एउटा नाम चलेको दैनिक पत्रिकाको सिनियर दाईले आफ्नो कोठामा जाने प्रस्ताव गर्नुभयो । मैले भने, ‘किन तपाईंकोमा जाने ? कुरा के हो यही गरौं न ।’ उसले जाउँ न मेरो रुममा एक छिन् बसेर आउँ भन्यो ।’ म पत्रकारितामा प्रवेश गर्दा निकै बरिष्ठ लाग्ने ती पत्रकारप्रति आजकल मलाई घृणा लाग्न थालेको छ ।

विहे नगरे नि गर्लफ्रेण्ड त बन्न सक्छौ नि !

व्यापारी व्यवसायी मात्र होइन सरकारी उपल्ला तहका कर्मचारीमा एउटै कोटीमा आइहाल्छन् । भन्छन्, ‘विहे नगरे पनि गर्लफ्रेण्ड त बन ।’ रिपोर्टिङका क्रममा विभिन्न मन्त्रालय गइरहनुपर्छ । समाचारका लागि एक उपसचिवको ‘कोट’ जरुरी पर्‍यो । म उपसचिवको कार्यकक्षमा पुगे । पहिलोपटक भेट भएपछि परिचय दिन नपाउँदै ती उपसचिवले भनिहाले, ‘म तपाईललाई पहिले देखिनै चिन्छु ।’ म आश्चर्यमा परे । कहिल्यै भेट नभएको मान्छेले कसरी चिन्यो । पछि थाहा पाएँ, मन्त्रालय जाने आउने क्रममा ती उपसचिवले मन्त्रालयकै अरु कर्मचारीसँग मेरो बारेमा सोधेर बायोडाटा कण्ठ गरेर बसेका रहेछन् ।

त्यसपछि रिपोटिङकै क्रममा उनीसँग दोस्रो पटक भेट भयो । समाचारको कुरा भयो सक्कियो । तेस्रो पटकको भेटमा त उपसचिवले आफ्नो कार्यकक्षमा मनको कुरा खोलिहाले, ‘म अविवाहिता भएको भए तपाईंसँग विहे नै गर्थें ।’ मैले हाँसेर टारिदिएँ । उपसचिव अझ अगाडि बढे, ‘विहे नगरे नि हामी गर्लफ्रेण्ड/ब्वाइफ्रेण्ड त बन्न सक्छौं नि ?’ म कड्किएपछि उपसचिव लगतै साइजमा आए ।

व्यापारी, कर्मचारी, पत्रकार, जुनसुकै क्षेत्रमा गलत आशय राख्ने पुरुष भएपनि उनीहरुको उम्कने उपाय उस्तै हुन्छ । आफै गलत मनसायले प्रस्ताव राख्छन् । महिलाले अस्विकार गरे, तिमीले गलत सोच्यौ भन्दै पानी माथिको ओभाने हुन्छन् । यस्ता ‘कू’पात्रप्रति मलाई भने दया लाग्छ ।

६ वर्षमा ४० जनालाई हपारें

पत्रकारितामा प्रवेश गरेको ६ वर्षको अन्तरालमा व्यापारी, सरकारी कर्मचारी, पत्रकार गरि करिब ४० जनाले घुमाएर प्रेम प्रस्ताव राखे । तिनको उद्देश्य साँचो प्रेम थिएन, शारिरिक आकर्षण मात्र हो । यस्तो गलत प्रस्ताव गर्ने करिब ४० जना जतिलाई हप्काएरै तह लगाएको छु ।

नकारात्मक सोच राखेर व्यवहार गर्नेप्रति म बढी नै कठोर छु । कसैलाई कोही मन पर्नु अपराध होइन तर मनपर्‍यो भन्दैमा जे पनि भन्न त पाइदैन नि । को व्यक्तिसँग कतिसम्म व्यवहार गर्ने भन्ने सोच्न नसकेपछि समस्या हुन्छ । सुरुमा गलत प्रस्ताव राख्ने धेरैले पछि ‘रियलाइज’ पनि गर्दा रहेछन् । कतिले हामीले गलत सोचेछौं भन्दै माफी मागेर आदर गर्नेहरु पनि छन् ।

किताब लेखेर भण्डाफोर गर्छु

यस्ता अनगिन्ती स्मरणहरु छन्, मैले साक्षात्कार गरेका । मेरो इच्छा र लगन भनेकै पत्रकारितामा स्थापित हुने हो । उचाइँमा पुग्ने हो । त्यसपछिको सपना छ, पुस्तक लेख्ने । त्यो पुस्तकमा यी सबै घटनाक्रमहरुको नालीबेली हुनेछ । त्यो त्यस्तो पुस्तक हुनेछ जसले समाजमा व्यापारी, कर्मचारी, पत्रकार वा अरु कुनै आवरणमा दुराशय राख्नेहरुको स्पष्ट अनुहार देखिनेछ । समाजमा भएका अगाडि एउटा र पछाडि अर्को सोचाइ र व्यवहार भएका व्यक्तिहरुको मुखुण्डो पुस्तकमार्फत् च्यात्नेछु ।

About ICT Khabar/आइसिटी खबर

Check Also

काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

२०७५ भदौ १४ गते बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ ...