Home / लेख/बिचार विवेचना / बर्मा गए कर्म, अमेरिका गए आचरण सँगै, दुःखको सागर रहेछ – अमेरिका

बर्मा गए कर्म, अमेरिका गए आचरण सँगै, दुःखको सागर रहेछ – अमेरिका

दीक्षा बस्नेत – अमेरिका अर्थात् नेपालीहरूको सपनाको देश । आफ्नै मातृभूमि नेपालमा जतिसुकै सुखी र सम्पन्न भए पनि हामी नेपाली सकेसम्म एकपटक अमेरिका पुग्न लालायित हुन्छौँ । संसारको समृद्ध र सम्पन्न मुलुक अमेरिका पुग्ने चाहना नेपालीहरूका लागि मात्र होइन, विश्वका अन्य मुलुकका नागरिकमा पनि उत्तिकै देखिन्छ । त्यसैले हामी नेपालीमा यस्तो चाहना हुनु नौलो होइन पनि । यसर्थ, ममा पनि केहीवर्षदेखि अमेरिकामा पाइला टेक्ने सपना पलाएको थियो । अमेरिका, धेरैका लागि सपनाको संसार, जिन्दगीको लक्ष्य । त्यसैले एकपटक पुग्न पाए जिन्दगीको सबैभन्दा ठूलो धोको पूरा भएको मानसिकता बोक्ने धेरै छन् । गगनचुम्बी भवन, फराकिला सडक, चिल्ला गाडी । झट्ट हेर्दा स्वाभाविकै पनि हो । त्यसैले ममा पनि अमेरिकाको मोह जाग्नु अस्वाभाविक थिएन । नजिकबाट नियाल्न मन थियो । तर, अमेरिका पुग्ने उपाय भनेको डीभी चिठ्ठाबाहेक अरू थाहा थिएन । केहीवर्ष लगातार डीभी नभरेको पनि होइन । सायद मेरो भाग्यमा चिठ्ठा लेखेकै थिएन कि कहिल्यै परेन । नेपालीमा एउटा उखान छ, दैवले नि भन्छरे तँ आँट म पुर्याउँला । ’मैले आँटे । सायद दैवले पुर्याइछाड्यो अमेरिकामा ।

जुनबेला जन्मभूमि नेपाल विनाशकारी भूकम्पले थिल्थिलाउँदो अवस्थामा थियो र धड्कन मात्र बाँकी थियो । निर्धक्क श्वास फेर्ने साहससमेत कसैसँग थिएन । दैनिक १०–१५ पटक भूकम्पले धक्का दिइरहेको अवस्था थियो । ‘आयोआयो’भन्यो फेरि दौडियो । भागेर पो कहाँ जानु थियो र रु मानव प्राणीलाई जिउको माया कति लाग्दोरछ भन्ने त्यसबेला थाहा भयो । घर छोडी चौरको बास हुँदाको भयावह अवस्थाकै बीच म घरपरिवार छाडेर हिँडेकी थिएँ । फेरि भेट हुने हो कि होइन जस्तो लाग्दै मनभरि अमिलो घाउ बोकेर यात्राको निधो गरेकी थिएँ । शरीर उडे पनि आत्मा उतै घुमिरहेको थियो । ८५ वर्ष नाघेका वृद्धबाबा–आमा अनि कोखको घाउलाई मैले त्यसअवस्थामा छाडेकी थिएँ । किनकि म उही सपना पूरा हुने अवसर पाएर अमेरिका उड्दै थिएँ । यो मौका जीवनमा फेरि आउँथ्यो वा आउँदैनथ्यो । मैले जन्मेको धर्तीलाई आत्मा साक्षी राखेर केही सिकेर फर्किने कसम खाएको थिएँ । सँगैसँगै समाजलाई केही सिकाउने प्रण गरेकी थिएँ । अमेरिका आएको तीनमहिना नबित्दै त्यो प्रण कसरी भुल्न सक्छु र । तर, पाइला लम्काउन खोज्छु, पछाडिबाट तान्न तयार उनै नेपाली । विडम्बना, भनौँ भने कसरी भनौँ, नेपाली हुनुको त्यही पीडा भोग्दै छु म । सुनेको थिएँ–‘नेपाल गयो, कपालसँगै । बर्मा गयो, कर्म सँगै । अमेरिका आएको तीनमहिने अवधिमा सिकेको अर्को महत्त्वपूर्ण कुरा हो–अमेरिका गयो, आचरण सँगै । झन्डै २४ घन्टाको यात्रापछि अमेरिकाको कुनै राज्यको यस्तो ठाउँ आइपुगेँ कि जहाँ नेपालको एसएलसीसम्ममात्र अध्ययन भएकादेखि अमेरिकाकै प्रख्यात विश्वविध्यालयबाट पढाइ पूरा गरेका नेपालीहरूको जमात छ । अधिकांश भने डीभी चिठ्ठा परेर आएकाहरू नै छन् । कतिपय भने यहाँ विभिन्न माध्यमबाट आएर शरणार्थी बनेर वैधानिक बनेका छन् ।

अमेरिकाः विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश । यहाँ मान्छे–मान्छेबीच भेदभाव हुँदैन । कोही ठूलो वा सानो भन्ने हुँदैन । तर, नेपाली समुदायबीच भने यो नियम लागू नहुने रहेछ । म बसेको स्थानमा एकसय ५० भन्दा बढी नेपाली जुवाघर (क्यासिनो)मा काम गर्छन् । उहाँहरू कतिपयमा निकै अहमता रहेछ । किनकि हामीजस्ता भर्खरै आएका नयाँहरूलाई मान्छे नै नठान्ने । आफूहरूलाई निकै ठूलो ठान्ने । अमेरिकामै मैले यसवर्षको तीजपर्व मनाउने मौका पाएँ । त्यही तीजका अवसरमा मैले देखेँ–भोगेका कुराहरूले नै यी शब्द कोर्न बाध्य बनायो । नेपालमा भन्दा अमेरिकामा धेरै अघिदेखि नै चाडपर्व लाग्दोरहेछ । लगभग एकमहिना अघिदेखि तीज मनाउन थालेको देखेँ मैले । लाग्यो, हाम्रो प्रवृत्ति जहाँ गए पनि नमेटिने रहेछ ।

महिलाहरूका खासखुस कुरा सुन्नलायक थियो–‘घटीमा पनि १०–१२ वटा सारी त चाहिहाल्यो नि, पोहोरको लाउने कुरो आउँदैन ।’ ‘सबैले नेपालबाट नयाँ गहना मगाएका छन् । मचाहिँ उनीहरू भन्दा किन कमजोर भएर हिँड्ने ?’ एकमहिनासम्म त मैले महिलाहरूका गफ केवल सारी र गहनाकै मात्र सुनेँ । कामबाट आयो कि उही कुरा । कतिपयका भने बूढाले नेपाल गएको बेला ल्याउने र कत्तिका आफन्तहरूसँग मगाउने चलन रहेछ । अनि कोही नयाँ नेपाली आइपुग्यो भने उसको पूरा इतिहास खोतलेर सोध्ने । पारिवारिक पृष्ठभूमिदेखि यहाँ उसले खाने, लगाउने, बस्ने, हिँड्ने सबैमा चियोचर्चो । पोते लगाएको देखे किन लगाएको भनेर सोध्ने । नलगाएको देखे किन नलगाएको भनेर । ‘श्रीमान् कहाँ नि ?’ ‘बिहे पो भा’को छ कि छैन ?’ ‘भएको भए किन साथमा नल्या’को ?’, ‘बिहे नभएको भए किन ढिला ?’, ‘अब कहिले गर्ने ?’ ‘अघि फोन कसले गरेको नि ?’, ‘नेपालमा को–को हुनुहुन्छ ?’ यस्ता अनगिन्ती प्रश्न झेल्नु पर्दा सुरुमा त आफू कहाँ आएँजस्तो लाग्यो । अमेरिकामै त छु भने झैं पनि लाग्यो । अमेरिकामा शैक्षिक, प्राविधिक एवं सबैखाले श्रमक्षेत्रमा बिस्तारै प्रवासीहरूको बाहुल्यता बढ्दै गइरहेको छ । अमेरिकी सरकार र प्रणालीको खुलापन, प्रवासीहरूप्रति देखाइएको सहानुभूति र स्वतन्त्रता एवं नीति र नियमका कारण अमेरिकी समाजमा प्रवासीको पहुँच बढ्नु स्वाभाविक र खुसीको कुरा हो । तर, यहाँको नेपाली समाज पनि विभाजित रहेछन् । एकले अर्कोको हैसियत र क्षमताको अवमूल्यन गर्ने र त्यसैमा रमाउने प्रवृत्ति बढ्दै गइरहेको छ । संस्था र साधनलाई पोको पार्ने नाममा नेपालीले नेपालीलाई मुद्दा हाल्ने र जेल पुर्याउने अवस्थासमेत सिर्जना भएका छन् । खाँदै नखाने, सुत्दै नसुत्ने, बरु काममा पनि जाँदै नगई आफ्नो दैनिकी रोक्ने तर अर्काको चिन्ता गर्न नछाड्ने संस्कार हावी भएको छ ।

संसारको शक्तिशाली देश, प्रसस्तै अवसर भएको देश । मैले यहाँ केही सिक्छु, अघि बढ्छु र परिवार र देशलाई केही दिन्छु भनेर गरेको त्यो प्रण । तर, अरूले खाएको र लगाएको टीकाटिप्पणी गर्ने प्रवृत्तिमै रुमलिन पुग्यो । यो देशमा आएको फाइदा र यहाँको नीति, प्रविधि र प्रणाली सिक्नु पनि हो । परिवर्तन भन्ने कुरा आफैँबाट सुरु गर्ने हो । अर्काको मुलुकमा अर्काले गरिदिँदैन । इतिहास जित्नेहरूको मात्र लेखिन्छ । हार्नेहरूको होइन । हामी वीर गोर्खालीका सन्तान । तर, हामीमा नेपालको शानका रुपमा रहेको त्यो धरहरा उठाउनु छ भन्ने भावना हुँदो हो त त्यति धेरै लुगा, गहना र चियोचर्चोमा समय खेर फाल्नु नपर्ने हो । हुन त बाहिरबाट देखेजस्तो छैन अमेरिका । किनकि कठोर संघर्षको अर्को नाम रहेछ–अमेरिका । दुःखको सागर रहेछ–अमेरिका । कुनै पनि नेपालीले अमेरिकामा अत्यन्तै आनन्दको जीवन बिताइरहेकोजस्तो लाग्दैन । दुःख नगरी सुखसयलसँग कोही पनि बाँचेका छैनन् ।

अमेरिकाले हामीलाई काम दिएको छ । वश भरिया बन्छौँ, डलर कमाउँछौँ, अनि सबैभन्दा धेरै सुनचाँदी किन्छौँ, सारालाई देखाउँछौ । तर, यहाँको ज्ञान शून्य लिएर फर्किन्छौं भने यहाँ बस्नुको के अर्थ रु धेरै थोरै जति पढे पनि उसको जति पैसा कमा’कै छ क्यारे भन्दै हिँड्नेहरूका लागि अरू झैँ ‘हँ मा हँ’थप्न नसकेकीले म अलि भिन्न र एकलकाटे बनिरहेकी छु । अलिकति त्रासमै यो लेख्दैछु । किनकि सरकारी विध्यालयबाट एसएलसी पास गरेकी म कक्षामा राम्रै विध्यार्थीमा गनिन्थेँ । स्नातकोत्तरसम्मको पढाईमा धेरै रटाइ र घोटाइ भोगेकी छु । जीवनमा आइपर्ने धेरै उतारचढाव सामना गरेकी छु ।

एसएलसीपछि पढाइ चटक्कै छोडेर बसेकी म झन्डै ८–९ वर्षपछि अध्ययन सुरु गरेकीले मेरो जीवनमा सहज केही पनि थिएन । मैले सजिलो गरी पढेकी थिइनँ । अलिकति पृथक कहानी बोकेको जीवन थियो मेरो । कयौँरात नसुती बिताएकी छु । तर, लगातार अघि बढिरहेँ र नेपालको उच्चशिक्षा हासिल गरेरै छोडेँ । किनकि मेरो लागि त्यो चुनौतीको विषय थियो । अध्ययनको क्रममा विश्वको भूगोल र इतिहासका ठेली पनि नघोकेकी होइन । व्याकरण, निबन्ध, काव्य, कविता, गजल सबैमा थोरबहुत दख्खल छ । तर अहिले यहाँ मेरा ती प्रमाणपत्र देखाउन धक लाग्छ । यहि थियो हाम्रो देशको घोकन्ते र रटन्ते शिक्षाप्रणालीको उपज । जुन यहाँ आएर महसुस भयो । बायोडाटा देखाएर जागिर खाने सपना नेपालीको कहीँ गए पनि पूरा नहुने रहेछ भन्ने लाग्यो । त्यसैले हामी र हाम्रो नेपाली संस्कारलाई तँछाड र मछाडको देखासिकी छोडेर हाम्रा सन्ततीलाई हाम्रो भन्दा फरक शैक्षिक प्रणालीद्वारा अघि बढाउन जरुरी देखेको छु ।

About ICT Khabar/आइसिटी खबर

Check Also

जमाना डिजिटल सिग्नेचरको ! यसको महत्व र सहज लिने प्रक्रिया यस्तो छ

विद्युतीय हस्ताक्षरको भनेको ‘डिइमेटेरियलाइज’ अर्थात भौतिक हस्ताक्षरलाई कागजरहित बनाउने भन्ने हो । विद्युतीय कारोबारमा कुनै ...