Breaking News
Home / JOB Profile / १५ वर्षको रेडियो यात्रालाई अनलाइन यात्रामा बदल्दै सबिना कार्की

१५ वर्षको रेडियो यात्रालाई अनलाइन यात्रामा बदल्दै सबिना कार्की

मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । मैले सँधै मिठो अनुभव गरिरहेँ ।

काठमाडौं । अत्यधिक फ्यान फलोइङ भएकी आरजे हुन् सविना कार्की । कान्तिपुर रेडियोमा विभिन्न कार्यक्रम चलाउँदै आएकी उनलाई मिठो र सन्देशमुलक प्रस्तुतिका लागि धेरैले रुचाए ।

सविनाले हालै कान्तिपुरसँगको १५ वर्ष पुरानो सम्वन्ध तोडेकी छिन् । अब इन्टरनेटमार्फत स्रोताहरुमाझ आउने उनको तयारी छ । अनलाइनखबरसँगको कुराकानीमा सविनाले आफ्नो १५ वर्ष लामो रेडियो करिअरका १५ अनुभूति यसरी बाँडिन् ।

१. आरजे बन्ने मेरो सानैदेखिको सपना थियो । मलाई जसरी पनि कान्तिपुर एफएममै जागिर खाने भुत सवार भएको थियो । कक्षा ११ पढ्दा मेरा धेरै साथीहरुलाई यो कुरा थाहा थियो । एक दिन प्रेक्षा भन्ने मेरो बेष्ट फ्रेन्डले कान्तिपुर पत्रिकाको कटिङ लिएर आई । आरजेको लागि भ्याकेन्सी खुलेको रहेछ । म उत्साहित भएर तुरुन्तै कान्तिपुरको विल्डिङमा पुगेँ । फाराम भरेँ । तीन राउन्ड अन्तरवार्ता भयो । अन्तिम अन्तरवार्तामा म पनि छानिएँ । त्यसपछि कैलाश सिरोहियाले मलाई भन्नुभयो, ‘यु ह्याभ द फायर इन्साइड सविना । वेल्केम टु कान्तिपुर फेमिली ।’ म खुशीले झण्डै उफ्रेँ ।

२. रेडियो करिअर स्टार्ट गरेको २ वर्षपछिको घटना हो । एउटा कलेजको उद्घाटन कार्यक्रममा उद्घोषक बन्न पुगेकी थिएँ । त्यो मेरो जीवनकै पहिलो एमसी अनुभव थियो । त्यतिबेलासम्म मेरो त्यति ठूलो फ्यान फलोइङ पनि थिएन ।

कार्यक्रम शुरु गरेँ । तर, प्रमुख अतिथि आउन ढिला भयो । ट्राफिक जामका कारण प्रमुख अतिथि आउन ढिला हुनेभयो भनेर मलाई सूचना आयो । मैले त्यही कुरा माइकमा बोलेँ । मैले त्यति भनेलगत्तै उपस्थित दर्शकहरु, जसमा अधिकांस विद्यार्थी थिए, ले त खुशी भएर हुटिङ पो गरे । त्यसपछि उनीहरुले चारैतिरबाट मलाई घेरेर अटोग्राफ माग्न थाले । प्रमुख अतिथि आइसक्दा पनि म अटोग्राफ दिइरहेकी थिएँ ।

३. मोबाइल र सोसल मिडियाको जमाना सुरु भइसकेको थिएन । मलाई अफिसका नम्बरमा धेरै फोन आउँथे । त्यस्ता फोनमा प्रायः मेरो प्रस्तुतिको तारिफ गर्नुहुन्थ्यो । एक जनाले चाहिँ मलाई फोन गरेर सोझै बिहेको प्रस्ताव गर्नुभयो । एकपटक होइन पटक-पटक । धेरैचोटी मलाई भेट्न कार्यालय अगाडि आएर बस्नुहुन्थ्यो । म भेट्थेँ, तर उहाँको प्रस्तावलाई हाँसेर टार्थेँ ।

हुँदाहुँदा एक दिन त उहाँले आफ्नी आमालाई लिएर मेरो अफिसमा आउनुभयो । उहाँकी आमाले ‘लौन नानी मेरो छोरोले साह्रै गर्‍यो, मेरी बुहारी बन्नुपर्‍यो’ भनेर हत्ते गर्न थाल्नुभयो । त्यसपछि अफिसमा साथीहरु जम्मा भए र सबैले सम्झाउन थाले । मैले पनि ‘अहिले मेरो बिहे गर्ने उमेर भएको छैन आमा, पढ्दैछु’ भनेर सम्झाएर पठाएँ । त्यसपछि बल्ल उहाँले पिछा छोड्नुभयो ।

sabina karki४. म हरेक बिहिबार ‘यो माया भन्ने चिज यस्तै हो’ भन्ने कार्यक्रम चलाउँथेँ । एक दिन कार्यक्रम शुरु गर्नै लाग्दा एउटा स्रचना हातमा परेँ । मैले त्यो पढेँ । एक जनाको अति महत्वपूर्ण औषधि ट्याक्सीमा छुटेको रहेछ । काठमाडौंमा नपाइने औषधि उहाँले भारतबाट ल्याउनुभएको रहेछ । त्यो औषधि भेट्नेले फलानो व्यक्तिलाई फलानो नम्बरमा सम्पर्क गर्नुहोला भनेर मैले सूचना पढेकी थिएँ ।

त्यसको भोलिपल्ट जब म अफिस आएँ, कसैले मेरो ढोकामा एउटा ठूलो बुके, चकलेटहरु र कार्ड छोडेको रहेछ । सो कार्डमा ‘मेरो जीवन बचाउनुभएकोमा धन्यवाद’ लेखिएको थियो । खासमा ट्याक्सी ड्राइभरले मेरो कार्यक्रम सुनेर औषधि उनको हातमा पारिदिएका रहेछन् । ती व्यक्तिसँग भेट भएन, तर उनका शब्दहरुले धेरै दिनसम्म मलाई प्रभाव पारिरह्यो ।

५. संकटकालताका राति गाडीमा घर जाँदा कडा चेकिङ हुन्थ्यो । एक रात थापाथलीमा पुग्दा सेनाले रोक्यो । कान्तिपुर रेडियो भन्नासाथै एक जना सैनिकले ‘सविना कार्की यहाँ हुनुहुन्छ ?’ भनेर सोधे । मैले आफ्नो परिचय दिएँ । त्यसपछि त उनी जंगिए । ‘मैले बलिउड हंगामामा पठाएको चिठी तपाईंले किन नपढेको ?’ मैले उहाँको नाम सोधेँ । तर, मलाई उहाँको चिठी याद भएन । त्यसपछि भनेँ, ‘फेरि पठाउनुस् अर्को एपिसोडमा प्रशारण गर्छु ।’ उनी त अहिले नै लेख्छु भनेर कापी कलम लिएर तयार भए । एकैछिनमा सन्देश लेखेर दिए पनि । त्यसलाई मैले आफ्नो कार्यक्रममा पढिदिएँ ।

६. मेरो दिनेश भन्ने सहकर्मीले सुनाएको कुरा यो । उहाँको एक जना साथीले सेयर गर्नुभएको रे । उहाँ जीवनबाट विरक्तिएर आत्महत्या गर्ने निर्णयमा पुग्नुभएको रहेछ । तर, मेरो कार्यक्रम सुनेर आफ्नो मुड बदल्नुभयो रे । म कार्यक्रममा जीवनका रमाइला पक्षहरुबारे चर्चा गरिरहन्छु । यदि मेरै कार्यक्रम सुनेर कसैले आत्महत्या गर्ने निर्णय बदलेको हो भने त्यो मेरो लागि एकदमै ठूलो कुरा हो ।

७. मैले १५ वर्षको करिअरमा चार हजार जति इन्टरभ्यू गरेको छु होला । मलाई अन्तरवार्ता दिन आउनेमध्ये दुई जना गेष्टले मलाई प्रेम प्रस्ताव राख्नुभएको छ । तीमध्ये एक जना परिचित नै हुनुहुन्थ्यो भने एक जनासँग पहिलोचोटी भेट भएको थियो । उहाँहरु दुवैले अन्तरवार्ता सकिएपछि मलाई प्रपोज गर्नुभएको हो । दुवै जनाले सिरियसली राखेको प्रस्तावलाई मैले हाँसेरै टारेँ ।

८. यो माया भन्ने चिज यस्तै हो भन्ने कार्यक्रम सुनेर मेरो डाइ हार्ड फ्यान बन्नुभएको रहेछ एक व्यक्ति । उहाँको नाम जितु हो । उहाँ हरेक विहिबार मेरो कार्यक्रम सुन्ने र मैले बोलेका कुराहरु टिपोट गर्ने गर्नुहुँदो रहेछ । अनि त्यो टिपोटको सग्रह प्रत्येक वर्षको वैशाख १ गते मलाई हुलाकबाट पठाइदिनु हुन्थ्यो । यो सिलसिला ७ वर्षसम्म चल्यो । एकपटक काठमाडौं आएका बेला मलाई भेट्नु पनि भयो । उहाँले पठाएका ती चिठीलाई मैले अहिले पनि सुरक्षित राखेको छु । सात वर्षपछि उहाँ कता गायब हुनुभयो थाहा भएन ।

sabina_karki2

९. मेरो एक जना स्रोता हुनुहुन्छ, जो मलाई आफ्नो बेस्ट फ्रेन्ड जस्तो मान्नुहुन्छ । आफ्ना पर्सनल कुराहरु सेयर गर्नुहुन्छ र सल्लाह माग्नुहुन्छ । एकटक उहाँले भन्नुभयो, ‘मेरो प्रेमिकासँग ब्रेकअप भयो । उसले परिवारको दबावमा अर्को बिहे गरी । तर, बिहेपछि पनि हाम्रो रिलेसन टुटेको छैन । त्यो केटी पाइनँ भने मर्छु जस्तै लाग्छ । के गर्ने होला ?’  मैले उहाँलाई राम्ररी सम्झाएँ । तपाईंले उनलाई जसरी पनि बिर्सिनुपर्छ भनेर कन्भिन्स गरेँ । उहाँलाई पनि बिहे गर्न सल्लाह दिएँ । केही समयपछि उहाँले पनि बिहे गर्नुभयो । अहिले उहाँको दुई वर्षको छोरा छ । आफ्नो पारिवारीक जीवनबाट सन्तुष्ट हुनुहुन्छ । मलाई भेट्दा भन्नुहुन्छ, ‘तपाईंकै सल्लाह मानेर म गलत बाटोमा हिड्नबाट रोकिएँ ।’

१०.रविन्द्र मिश्र मेरो राम्रो स्रोता हुनुहुन्छ । केही दिन अघिको मात्र कुुरा हो । उहाँ कपाल काट्न जाँदा एक जना मेरो फ्यानसँग भेट भएछ । त्यहीँबाट फोन गरेर मलाई उहाँसँग कुरा गराउनुभो ।

उहाँको नाम नवराज रहेछ । अहिले रेडियो नेपालमा खरदार हुनुहुँदो रहेछ । उहाँले मबाट ‘इन्सपायर’ भएर यो ठाउँसम्म आइपुगेको बताउनुभो । ‘म सानैदेखि तपाईंको कार्यक्रम सुन्थेँ । पहिले त्यति पढ्न मन लाग्दैनथ्यो । तपाईंको भनाइहरुबाट प्रेरित भएर नै पढाईमा राम्रो गरेँ । जागिर खाएँ । आज जुन पोष्टमा छु, त्यसमा तपाईंको पनि ठूलो हात छ’ उहाँका यस्ता शब्दले मलाई भावुक बनायो ।

११. मैले कान्तिपुर छोडेँ भनेर फेसबुकमा पोष्ट गरेपछि धेरै कमेन्टहरु आएका छन् । ती कमेन्टहरुले मलाई उत्प्रेरणा मिलेको छ । ‘तपाईंले हामीलाई मनोरञ्जन मात्र दिनुभएको छैन, जीवनमा राम्रो काम गर्न प्रेरणा पनि दिनुभएको छ भनेर धेरैले लेख्नुभएको छ । कसैले तपाईंको कारणले राम्रो पढेको छु भनेर लेख्नुभएको छ, कसैले आफ्नो जीवनसाथीसँग सम्वन्ध सुधारेको छु भन्नुभएको छ र कसैले आमाबुवालाई खुशी बनाएको छु भनेर लेख्नुभएको छ । यस्ता कमेन्टहरु पढ्दा पनि खुशीले मन भरिएको छ ।

१२. मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । मैले सँधै मिठो अनुभव गरिरहेँ ।

१३. एउटै अर्गनाइजेसनमा १५ वर्ष बिताउनु लामो समय हो । जीवनमा टर्निङ प्वाइन्टहरु आउनुपर्छ । हामी खाली कम्र्फट जोनमा बसेर जीवन गुजार्न चाहन्छौं । मैले पनि अहिलेसम्म त्यस्तै गरेँ । अब अलिकति चेन्ज ल्याउन चाहेकी छु । तर, म श्रोताहरुबाट अलग हुन लागेकी होइन । यदि त्यस्तो हुन्थ्यो भने मलाई असैह्य पीडा हुन्थ्यो होला । तर, आज म उत्साहित छु । म परिवर्तित समयलाई आत्मसात गर्दै नयाँ माध्यमबाट श्रोताहरुसँग गाँसिन गइरहेकी छु । अब मलाई पडकास्ट मार्फत इन्टरनेटमा सुन्न सक्नुहुनेछ । यसलाई मैले आफ्नो नामसँग जोडेर सब्सकास्ट नाम दिएकी छु ।

१४. मैले ४ वर्षअघि बिहे गरेँ । उहाँ व्यवसायी हुनुहुन्छ । मेरो कार्यक्रम खासै सुन्नुहुन्न । तर, मलाई सँधै सपोर्ट गर्नुहुन्छ । अझै मिहिनेत गर्न प्रेरणा दिनुहुन्छ ।

बिहेपछि पनि मेरो फ्यान फलोइङ घटेको छैन । बरु बढेको छ । सामाजिक सञ्जालमा सिन्दुर-पोते लगाएको फोटो हाल्छु र पनि कतिले मलाई प्रपोज गर्नुहुन्छ । यद्यपि मलाई सामाजिक सञ्जालमा आउने सन्देशहरु पहिलेको भन्दा केही फरक छन् । आजकाल बढि सल्लाहकै लागि सन्देश आउछन् । म सकभर सबैलाई जवाफ दिने प्रयत्न गर्छु ।

१५. रेडियो कार्यक्रम चलाउने बाहेक म क्याम्पस पढाउने पनि गर्छु । मास कम्युनिकेसन पढाउँछु । पढाईमा म निकै कडा गर्छु विद्यार्थीहरुलाई । धेरै विद्यार्थीहरु मसँग पर्सनल्ली नजिक पनि छन् । मलाई व्यक्तिगत कुराहरु सेयर गर्छन् र सल्लाह माग्छन् । सबैजना मसँग सामाजिक सञ्जालमा जोडिएका छन् ।

प्रस्तुतिः चिरञ्जीवी पौडेल/Onlinekhabar.com

About ICT Khabar/आइसिटी खबर

Check Also

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...